क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

३ वैशाख, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ६ हस्टेमा ऐतिहासिक साकेला सिलि प्रदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । किरात राई समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इलाम र पाँचथर जिल्लाका २१ वटा साकेला टोलीको उत्साहजनक सहभागिता रहेको थियो ।

स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले हस्टे क्षेत्रलाई एक दिन सांस्कृतिक उत्सवमय बनाएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । त्यसैगरी इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपि कुलदिप चन्द, जिल्ला सशस्त्र प्रहरी बलका प्रमुख, वडा अध्यक्षहरू, पालिकाका जनप्रतिनिधिहरू, सामाजिक अभियन्ता, सांस्कृतिकर्मी तथा सयौँ दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम उद्घाटनसँगै सहभागी टोलीहरूले परम्परागत बाजागाजा, सांस्कृतिक भेषभूषा र साकेला सिलिको मौलिक शैली प्रस्तुत गरेका थिए । विभिन्न ठाउँबाट आएका टोलीहरूले आफ्ना मौलिक सिलि प्रदर्शन गरेका थिए ।

साकेला सिलि किरात राई समुदायको महत्वपूर्ण सांस्कृतिक परम्परा हो । प्रकृतिपूजक किरात समुदायले उभौली र उधौली पर्वको अवसरमा सामूहिक रूपमा गर्ने यो नृत्यलाई धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । मानव जीवन, कृषि प्रणाली, प्रकृतिसँगको सम्बन्ध, पशुपालन, चराचुरुङ्गीको गतिविधि तथा दैनिक जीवनशैलीलाई नृत्यमार्फत अभिव्यक्त गरिने भएकाले साकेला सिलि केवल मनोरञ्जनको माध्यम मात्र नभई जीवनदर्शन र सभ्यताको अभिव्यक्ति पनि मानिन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयप्रकाश राईले किरात समुदायको संस्कृति नेपालकै मौलिक पहिचान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सांस्कृतिक चेतना विस्तार गर्ने बताए । उनले स्थानीय तहले संस्कृतिको संरक्षणमा प्राथमिकता दिनुपर्ने धारणा राख्दै परम्परा जोगाउन युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले इलाम बहुसांस्कृतिक जिल्ला भएको उल्लेख गर्दै विविध संस्कृतिले नेपाललाई अझ समृद्ध बनाएको बताए । उनले स्थानीय समुदायले आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके आर्थिक सम्भावनासमेत बढ्ने धारणा व्यक्त गरे ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाले स्थानीय संस्कृति, भाषा र परम्पराको संरक्षणलाई प्राथमिकतामा राखेको बताए । उनले माङसेबुङ क्षेत्र धार्मिक, सांस्कृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले सांस्कृतिक पर्यटन विकासमा गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिए । उनले भने, “हाम्रो समुदायको मौलिक संस्कृति जोगाउनु आजको आवश्यकता हो । आधुनिकताको प्रभावसँगै कतिपय परम्परागत संस्कार हराउने खतरा बढिरहेको छ । त्यसैले यस्ता कार्यक्रममार्फत युवालाई संस्कृति र पहिचानसँग जोड्न खोजिएको हो ।”

कार्यक्रम आयोजक किरात राई यायोक्खा वडा समिति माङसेबुङ–६ का प्रतिनिधिहरूले कार्यक्रमको मुख्य उद्देश्य स्थानीय आदिवासी किरात राई समुदायको संस्कृति, संस्कार र परम्पराको संरक्षण गर्नु रहेको बताएका छन् । साथै युवापुस्तालाई आफ्नो सांस्कृतिक इतिहास र पहिचानबारे सचेत गराउँदै सामुदायिक एकतालाई मजबुत बनाउने उद्देश्यसमेत कार्यक्रमले बोकेको उनीहरूको भनाइ थियो ।

साकेला सिलि प्रदर्शनमा सहभागी टोलीहरूले विभिन्न सांस्कृतिक शैलीमा आकर्षक प्रस्तुति दिएका थिए । परम्परागत ढोल, झ्याम्टा र किराती बाजाको तालमा प्रस्तुत गरिएका सिलिहरूले सहभागीहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा वृद्धवृद्धादेखि युवा तथा बालबालिकासम्मको उत्साहजनक सहभागिता देखिएको थियो ।

कार्यक्रममा स्थानीय उत्पादनको प्रचार;
कार्यक्रममा स्थानीय उत्पादन तथा कृषि उपजको प्रवद्र्धनलाई समेत विशेष प्राथमिकता दिइएको थियो । हस्टेस्थित माङमालुङ चिया बगानबाट उत्पादन हुने विभिन्न प्रकारका चियाको विशेष प्रदर्शनी तथा निःशुल्क टेस्टिङ कार्यक्रम राखिएको थियो ।
स्टलमा बगानबाट उत्पादन हुने ह्वाइट टी, सिल्भर टी, ग्रिन टी र ब्ल्याक टी लगायत पाँच प्रकारका चियाहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागी अतिथि तथा दर्शकहरूले चियाको स्वाद परीक्षण गर्दै स्थानीय उत्पादनप्रति चासो देखाएका थिए ।

स्थानीय कृषक तथा उद्यमीहरूले राखेका अन्य उत्पादनका स्टलहरू पनि कार्यक्रमको आकर्षण बनेका थिए । स्थानीय स्तरमा उत्पादन गरिएका खाद्यान्न, घरेलु सामग्री, हस्तकलाका वस्तु तथा कृषिजन्य उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो । यसले स्थानीय उत्पादनको बजार प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ऐतिहासिक कार्यक्रम;
हस्टे क्षेत्रमा पहिलो पटक यति ठूलो स्तरमा साकेला सिलि प्रदर्शन कार्यक्रम आयोजना गरिएको स्थानीयवासीहरूले बताएका छन् । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि स्थानीय समुदायमा उत्साह थपिएको छ ।

विशेषगरी युवापुस्ताको उल्लेखनीय सहभागिताले किरात संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढिरहेको संकेत दिएको सहभागीहरूले बताएका छन् । आधुनिक प्रविधि र विदेशी संस्कृतिको प्रभाव बढिरहेका बेला आफ्नो मौलिक संस्कृति जोगाउन समुदायस्तरबाट भइरहेको प्रयास प्रशंस योग्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam