इलाम । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै इलाम/पाँचथरको चिसापानी जोड्ने रणनीतिक महत्वको दमक–चिसापानी (फल्गुनन्द) सडक अन्तर्गत पहिलो ७ किलोमिटर खण्डको कालोपत्रे निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि हिलो र धुलोको सास्ती भोग्दै आएका दक्षिणी माङ्सेबुङका स्थानीयवासीलाई यसले राहत मिलेको छ ।
निर्माण कम्पनी महालक्ष्मी–किरातेश्वर जेभीका अनुसार यस खण्डको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब बाँकी काम पनि छिट्टै सक्ने तयारी भइरहेको छ ।

कुल ३३ किलोमिटर लम्बाइको यस सडकको निर्माण कार्य तीन खण्डमा विभाजन गरेर अघि बढाइएको थियो । पहिलो खण्ड दमक जिरोपोइन्टदेखि मार्चेबुङसम्म ७ किलोमिटर सडक निर्माणको ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले लिएको थियो । २०७५ साउन २९ गते सम्झौता भएको उक्त ठेक्काको लागत करिब २२ करोड ५० लाख रहेको छ । सम्झौता अनुसार ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले अहिलेसम्म काम पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन । यद्यपि यस खण्डको अधिकांश काम पूरा भइसकेको छ ।
विगतका वर्षहरूमा वर्षा लाग्नेबित्तिकै सडक हिलाम्मे हुने, सवारी साधन फस्ने र यात्रुहरू घण्टौँसम्म अलपत्र पर्ने, जोखिम मोलेर रतुवा खोलाबाट यात्रा गर्नुपर्ने अवस्था सामान्यजस्तै थियो । विशेषगरी मोटरसाइकल, अटो रिक्सा, पिकअप तथा एम्बुलेन्स सञ्चालनमा निकै कठिनाइ हुने गरेको थियो । तर अहिले कालोपत्रे निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत सवारी साधन सहज रूपमा सञ्चालन हुन थालेका छन् ।
माङ्सेबुङ-४ मार्चेबुङका स्थानीय भक्तबहादुर राईले अहिलेको अवस्थामा आफूहरूले राहतको सास फेरेको सुनाए । उनका अनुसार केही वर्षअघिसम्म सामान्य वर्षा हुँदा पनि सडकमा यात्रा गर्न निकै कठिन हुने गरेको थियो । “पहिले पानी परेपछि सडक हिलोले भरिन्थ्यो। मोटरसाइकल चलाउनै नसकिने, अटो त झन् चल्दैनथ्यो । रतुवा खोलाबाट यात्र गर्दा मान्छे बगाउथ्यो, गाडी बगाउथ्यो । अहिले भने बर्खाकै समयमा पनि सानाठुला सबै सवारीसाधनहरु सहजै कुदिरहेका छन् । हामी स्थानीयका लागि यो ठूलो राहत हो,” उनले भने।
स्थानीयका अनुसार सडक सुधारसँगै कृषि उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ । यस क्षेत्रका किसानले उत्पादन गर्ने अदुवा, केरा, तरकारी, फलफूल तथा अन्य कृषि उपज दमक बजारसम्म ढुवानी गर्न पहिले निकै सास्ती खेप्नुपर्थ्यो । अहिले भने यातायात सहज बन्दा ढुवानी लागतसमेत घटेको छ।
माङ्सेबुङ गाउँपालिका–४ का वडा अध्यक्ष नवीन योङ्हाङले सडकको तल्लो खण्ड निर्माण सम्पन्न हुन लाग्दा स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको बताए । उनका अनुसार यो सडक माङ्सेबुङ क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना हो । “अहिलेसम्म तल्लो ७ किलोमिटर खण्ड निर्माण सम्पन्न हुन लाग्दा मात्रै पनि हाम्रो वडासहित आसपासका धेरै स्थानीयले ठूलो राहत पाएका छन् । वर्षाको समयमा पनि सहज रूपमा आवतजावत गर्न सकिने अवस्था बनेको छ । यदि बाँकी दुई खण्डको काम पनि समयमै सम्पन्न भएको भए यस क्षेत्रको विकासले अझ ठूलो गति लिने थियो ।” वडा अध्यक्ष योङ्हाङले भने ।
सडकको पहिलो खण्डमा कालोपत्रे भएपछि मार्चेबुङ, दोभान, सिंहफेरे लगायतका बस्तीका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ल्याउन, कृषि उत्पादन बिक्रीका लागि दमक बजार पुर्याउन तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहज भएको स्थानीयहरूको भनाइ छ ।
स्थानीय व्यवसायीहरूका अनुसार पहिले सडकको अवस्थाका कारण ढुवानी खर्च बढ्ने, सवारी साधन बिग्रिने तथा समयमै सामान नपुग्ने/नआउने समस्या थियो । अहिले सडक सुधार भएसँगै व्यापारिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्न थालेको उनीहरू सुनाउछन ।
दमक–चिसापानी सडक पूर्वी नेपालको महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा पनि हेरिएको छ । यस सडकले झापा, इलाम र पाँचथर जिल्लालाई जोड्नुका साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण माङ्सेबुङ क्षेत्रसम्मको पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि यो आयोजनाको दोस्रो र तेस्रो खण्डको निर्माण कार्य भने अत्यन्तै सुस्त भएको कारण सरकारले ठेक्का रद्द गरेर अहिले नया बोलपत्र आव्हान गरेको छ । दोस्रो खण्डको करिब १५ किमी र तेस्रो खण्डको करिब ११ किमि सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले लिएको थियो ।
विभिन्न कारणले बाकी दुई खण्डको निर्माणमा ढिलाइ हुँदा स्थानीयले अझै पनि कठिन यात्रा गर्न बाध्य भइरहेका छन् । स्थानीयवासीले पहिलो खण्डमा देखिएको प्रगतिले आशा जगाएको बताउँदै बाँकी खण्डको निर्माण पनि शीघ्र सम्पन्न गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।






