माओवादी उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टीभित्र छुट्टै गुट चलाएको, पार्टी विभाजनका लागि तयारी गरेको आरोप हेडक्वार्टरले लगाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा चार बुँदे भनाइ सार्वजनिक गरी विशेष महाधिवेशन गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् ।
‘दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ उनले चार बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन्, ‘विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डाकेन्द्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ ।’

उनले जेठमा भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे पार्टीले साख गिरेको समेत बताएका छन् । ‘हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डाकेन्द्रित बहसमा केन्द्रित होऔं,’ उनको भनाइ छ ।
उनले देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने दाबी समेत गरेका छन् ।






