इलाम । इलामको माङसेबुङ गाउँपालिकामा परम्परागत रूपमा रोपिँदै आएको सिमल तरुल जंगली जनावरको बदलिदो स्वाभावको कारण संकटमा पर्न थालेको छ । पहिले दुम्सी र मुसाले मात्र क्षति पुर्याउने गरेपनि पछिल्ला वर्षहरूमा बाँदरको आक्रमण र परिवर्तित स्वाभावले किसानहरू खेती विस्तार गर्न हिच्किचाउन थालेका छन् । यसले सिमल तरुलको व्यावसायिक उत्पादनको सम्भावनासमेत ओझेलमा परेको छ।
स्थानीयका अनुसार अधिकांश परिवारले अहिले पनि घरायसी उपभोग र पाहुनालाई खुवाउने उद्देश्यले १०–१५ बोटसम्म सिमल तरुल रोप्ने गरेका छन् । मकै, कोदो, जुनेलो बोटमा फल्नेहुदा पहिला पनि बादर र अन्य जंगली जनावको तारो बन्ने गरेको थियो । तर सिमलतरुल जमिनमुनी फल्ने भएको कारण बिकल्पको रुपमा किसानहरुले लगाउदै आएका थिए । अहिले बादरको स्वाभाव फेरिको छ । जमिनमुनीको तरुल खनेर नै खान सिकिसकेको किसानहरु बताउछन । यसरी बन्यजन्तुको स्वाभाव फेरिदा किसानहरुले लगाएको बैकल्पिक बाली पनी जोखिममा परेको छ ।

किसानहरूका अनुसार पहिले सिमलतरुल खेतीको मुख्य समस्या दुम्सी र मुसा थिए भने अहिले बाँदर सबैभन्दा ठूलो चुनौती बनेको छ। खेतबारीमा लगाइएका अन्नबालीदेखि कन्दमूलसम्म बाँदरले नष्ट गर्न थालेपछि कृषकहरू आजित बनेका छन्।
माङसेबुङ गाउँपालिका–४ को सिमलटारस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दाताराम खनाल २०७३ सालदेखि त्यस क्षेत्रमा कार्यरत छन्। करिब एक दशकको अनुभव सुनाउँदै उनी भन्छन्, “यहाँका करिब ९५ प्रतिशत घरधुरीले सिमल तरुल रोप्छन्, अहिले बादरबाट जोगाउनै मुस्किल छ ।”
पछिल्ला वर्षमा जंगली बाँदरको संख्या र आक्रमण बढेपछि खेतीपाती जगाउनै कठिन भएको उनी बताउँछन्। “अघिल्लो वर्ष मात्रै सिमलटारबाट १३ घरधुरी विस्थापित भए। कृषकले लगाएको कुनै पनि अन्नबाली बाँदरले बाँकी राख्दैन,” खनालले भने।
जंगली जनावरको यही समस्याका कारण कृषिमा लगानी गर्ने वातावरण कमजोर बन्दै गएको उनको भनाइ छ। तीन वर्षअघि केही शिक्षकसँग मिलेर सिमल तरुलको व्यावसायिक खेती गर्ने योजना बनेको स्मरण गर्दै उनले करिब ५० लाख रुपैयाँसम्म लगानी गर्ने प्रस्ताव आफूले राखेको बताए । योजना तत्कालीन कोशी प्रदेशका अर्थमन्त्री राम राना समक्ष समेत पुगेको थियो । तर ठूलो परिमाणमा उत्पादन भएपछि बजार व्यवस्थापनको सुनिश्चितता नभएको र जंगली जनावरबाट हुने क्षतिको जोखिमका कारण योजना कार्यान्वयन हुन सकेन ।
माङसेबुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष सुनिता सुब्बाका अनुसार सिमल तरुल मुख्य रूपमा वडा नं. ३ को मनिपुर, खलङ्गे, रतुवाबेँसी, लामिटार तथा वडा नं. ४ का अधिकांश क्षेत्रमा उत्पादन हुने गरेको छ । त्यस्तै वडा नं. ५ को लारुम्बा क्षेत्रमा भस्मे फाँडेर रोपिएको सिमल तरुल राम्रो उत्पादन हुने गरेको उनको भनाइ छ ।
यद्यपि यी सबै क्षेत्रमा खेती परम्परागत रूपमा सीमित रहेको र व्यावसायिक उत्पादन सुरु हुन नसकेको सुब्बाले बताइन् । उनका अनुसार उचित बजार, संरक्षणको व्यवस्था र जंगली जनावर नियन्त्रणका प्रभावकारी उपाय अपनाउन सके सिमल तरुल स्थानीय आयआर्जनको महत्वपूर्ण स्रोत बन्न सक्छ ।
स्थानीय किसानहरूका अनुसार पछिल्ला वर्षहरूमा वन्यजन्तुको व्यवहारमा आएको परिवर्तनले खेतीपातीमाथिको दबाब बढेको छ । बाँदर गाउँबस्तीमै प्रवेश गरेर मकै, कोदो, तरकारी, फलफूल र कन्दबालीसमेत नष्ट गर्न थालेपछि कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् ।






