क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

इलाम । माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा ‘लिम्बू भाषा’ लाई कामकाजी भाषा घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार माङ्सेबुङमा बहुसङ्ख्यक समुदायले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने)लाई स्थानीय सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिनेछ ।

अध्यक्ष राईले नेपालको संविधानले आत्मसात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना र स्थानीय समुदायको भाषिक अधिकारलाई सम्मान गर्दै यो निर्णय गरिएको बताए । अध्यक्ष राईका अनुसार अनुसार नेपालको संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) ले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्दै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयन गर्न लागिएको हो । यस कदमलाई भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक कार्यान्वयनको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार माङ्सेबुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६ हजार ८१० रहेको छ । त्यसमध्ये ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई समुदायको बसोबास रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam