क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

इलाम । असोज १८ रातिदेखिको अविरल वर्षासँगै आएको भीषण पहिरोले इलामको माइजोगमाई गाउँपालिकामा जनधनको ठूलो क्षति गरेको छ ।

पहिरोले मानिसको मृत्यु हुनुका साथै सडक, पुल, विद्यालय, पालिकाको भवनदेखि घर, चौपाया, खेतबारी र विद्युत संरचनासम्ममा क्षति गरेको हो ।

गाउँपालिकाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ५९ भन्दा बढी घर–परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । तीमध्ये धेरैको घर पहिरोले बगाएको छ भने केहीको बस्न अयोग्य बनेको छ । विस्थापित परिवार अहिले अस्थायी टहरा, विद्यालय भवन र आफन्तका घरमा आश्रय लिएर बसिरहेका छन् ।

माइजोगमाई–६ प्याङमा मात्र २ परिवारका ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । ती परिवारका घर पहिरोले पूर्ण रूपमा बगाउँदा उद्धार गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

सयौँ पशु–चौपाया, बाख्रा, गाईभैंसी तथा कुखुरा बगाएको छ । पशु–चौपाय क्षति विवरण संकलन भइरहेको पशु शाखाले जनाएको छ । खेतबारीमा लगाइएको मकै, कोदो, अदुवा, अलैंची, अम्लिसो, धान, चियालगायत प्रमुख बालीनाली नष्ट हुँदा किसान ठूलो संकटमा परेका छन् । बिक्री गर्ने, थन्क्याउने बेला भएको बालीनालीमा क्षति हुँदा किसान आर्थिक समस्यामा छन्न ।

सबैभन्दा ठूलो भौतिक क्षति माइजोगमाई गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतका अनुसार पहिरो पालिका भवनको पछाडिबाट सरेर तल्लो तलासम्म माटो र लेदो बग्दै प्रवेश गरेको थियो ।

‘हिलो र माटोले कार्यालयका सम्पूर्ण कोठा भरिए, कम्प्युटर, प्रिन्टर, फाइल, खातापाता, सफ्टवेयर र प्रविधि सबैमा क्षति भयो,’ बस्नेतले भने । उनका अनुसार प्रारम्भिक हिसाबमा करिब करोड रुपैयाँको क्षति भएको अनुमान छ ।

भवनमा क्षति पुगेपछि गाउँपालिकाले अहिले अत्यावश्यक सेवा पुरानो प्रशासनिक भवनमा सरेर सञ्चालन गर्न थालेको छ । अत्यावश्यक बाहेकका काम गर्न कठिनाइ भइरहेको बस्नेतले जनाए ।

‘हाल हामी नागरिकता, दर्ता, स्वास्थ्य र राहतसम्बन्धी अत्यावश्यक सेवा सञ्चालन गरिरहेका छौँ तर अरू काममा ठूलो चुनौती छ,’ उनले भने।

पहिरोपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र सामाजिक अभियन्ता सक्रिय रूपमा उद्धार तथा सफाइमा जुटेका छन् । पालिका भवनभित्र प्रवेश गरेको माटो र लेदो हटाउने काम अझै जारी छ ।

स्थानीय स्वयंसेवकले विस्थापित परिवारलाई अस्थायी आवास, खाना र लत्ताकपडा उपलब्ध गराइरहेका छन् । गाउँपालिकाले तत्कालीन राहतका रूपमा खाद्यान्न, टेन्ट र स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।

गाउँपालिकाले क्षतिको विस्तृत विवरण संकलनको काम जारी राखेको छ । विभिन्न वडाबाट प्राप्त विवरण एकीकृत गरी प्रतिवेदन तयार पार्ने तयारी भइरहेको छ । ‘सम्पूर्ण क्षतिको आधिकारिक तथ्याङ्क आउन केही समय लाग्छ,’ बस्नेतले भने, ‘तर, यो वर्षाको क्षति माइजोगमाईको इतिहासमै सबैभन्दा ठूलो हुनसक्छ ।’

माइजोगमाईका दर्जनौँ बस्ती अझै पनि पहिरोको जोखिममा छन् । कतिपय ठाउँमा पहिरो रोकिएपनि भित्तामा दरार आएको र जमिन चर्किएको हुँदा त्रास छ । कतिपय सुरक्षित स्थानमा सर्ने प्रयास गरेपनि कतिपय बसाइँ सर्न सकिरहेका छैनन् ।

‘घर बग्यो, चौपाया गयो, बालीनाली सबै सकियो, अब कहाँ जाने हो थाहा छैन,’ माइजोगमाई–५ की एक विस्थापित महिलाले भनिन् ।

गाउँपालिकाले राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै तत्कालीन र दीर्घकालीन योजना बनाउन थालिएको जनाएको छ । प्रभावित परिवारको बसोबास, खानेपानी, स्वास्थ्य सेवा र शिक्षाको पहुँच सुनिश्चित गर्न संघीय र प्रदेश सरकारसँग सहकार्य गरिने बताइएको छ ।

‘यो प्राकृतिक विपत्तिले हाम्रो विकास योजना र कार्यतालिका पूर्ण रूपमा प्रभावित पारेको छ,’ बस्नेतले भने, ‘तर, हामी द्रुत पुनस्र्थापनाका लागि पूर्ण प्रयास गरिरहेका छौँ ।’

विनाशकारी पहिरोले गाउँको संरचनामात्र होइन, जनजीवन नै अस्तव्यस्त बनाइदिएको छ । अहिले पनि माटो र हिलोले ढाकिएका घर, खाली भएका बस्ती र रोइरहेका परिवारले त्यो रातको त्रास अझै सम्झिरहेका छन् । राहत र पुनस्र्थापनाको काम अघि बढ्दै गरेपनि पीडितका ‘घाउ’ निको हुन भने समय लाग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam